धारा १७८ – प्रदेश सभाको सदस्यका लागि योग्यताः

(१) देहायको योग्यता भएको व्यक्ति प्रदेश सभाकोे सदस्य हुन योग्य हुनेछः–

  • (क) नेपाली नागरिक,
  • (ख) सम्बन्धित प्रदेशको मतदाता रहेको,
  • (ग) पच्चीस वर्ष उमेर पूरा भएकोे,
  • (घ) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
  • (ङ) कुनै कानूनले अयोग्य नभएको, र
  • (च) कुनै लाभको पदमा बहाल नरहेको ।

स्पष्टीकरण:

यस खण्डको प्रयोजनका लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।

(२) निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेकोे व्यक्ति यस भाग बमोजिम प्रदेश सभाको सदस्य पदमा निर्वाचित
भएमा त्यस्तो पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ ।