धारा २६६ – राष्ट्रिय सुरक्षा परिषद:

(१) नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्यहरू रहेको एक राष्ट्रिय सुरक्षा परिषद रहनेछ:–

  • (क) प्रधानमन्त्री – अध्यक्ष
  • (ख) नेपाल सरकारको रक्षा मन्त्री – सदस्य
  • (ग) नेपाल सरकारको गृह मन्त्री – सदस्य
  • (घ) नेपाल सरकारको परराष्ट्र मन्त्री – सदस्य
  • (ङ) नेपाल सरकारको अर्थ मन्त्री – सदस्य
  • (च) नेपाल सरकारको मुख्य सचिव – सदस्य
  • (छ) प्रधान सेनापति, नेपाली सेना – सदस्य

(२) रक्षा मन्त्रालयको सचिवले राष्ट्रिय सुरक्षा परिषदको सदस्य–सचिव भई काम गर्नेछ ।

(३) राष्ट्रिय सुरक्षा परिषदले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्री मार्फत संघीय संसद समक्ष पेश गर्न लगाउनेछ ।

(४) राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।